काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज देशभर साधारणतया बदली रहने र गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षा/हिमपात तथा बाँकी पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको जानकारी दिएको छ ।
आज दिउसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही तराई भू-भागमा आंशिक बदली रहने छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ भने गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी वर्षा-हिमपातको पनि सम्भावना रहेको छ ।
त्यस्तै हाल देशमा पश्चिमी वायूको साथै अरव सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जानकारी दिएको छ ।
सात जिल्लामा सतर्क रहन आग्रह:
विभागले आजराती देखि भोली बिहानसम्म सात जिल्लामा सतर्क रहन आग्रह गरेको छ । विभागले हल्का देखि मध्यम वर्षा, हिमाली भू-भागमा हिमपात तथा वर्षाको सम्भावना रहेकोले गोरखा, मनाङ, मुस्ताङ, डोल्पा, म्याग्दी, कास्की र पर्वतसहित आसपासका जिल्लाहरुमा सतर्क रहन चेतावनी दिएको हो ।
त्यस्तै दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, लमजुङ, हुम्ला, जुम्ला, मुगु, कालीकोट, दैलेख, जाजरकोट, सल्यान, रुकुम (पूर्व), रुकुम (पश्चिम), बागलुङ, सुर्खेत, बाँके, बर्दिया र आसपासका जिल्लाका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा, हिमाली भू-भागमा हिमपात तथा वर्षाको सम्भावना रहेकोले मौसमसम्बन्धि जानकारी अध्यावधिक रहन आग्रह गरेको छ ।




