ठपर्वको दोस्रो दिन आइतबार बर्तालुले ‘खरना’ विधि गर्दैछन् । कात्तिक शुक्ल चतुर्थी तिथिका दिन हिजो बेलुका ‘नहाय–खाय’ विधिबाट पर्व शुरू गरेका बर्तालु पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा जुटेका हुन् ।
बर्तालुले स्नान गरी दिनभर निराहार उपवास बसेर राति सक्खरमा पकाइएको खिर देवता र छठी देवीलाई चढाउने र प्रसादस्वरुप खाने परम्परा छ ।
यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ । त्यस्तै, मुख्य दिन भोलि सोमवार ठेकुवा, भुसवालगायत कृषिजन्य अन्नको पिठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटोलगायत सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र बेलुका अस्ताउने सूर्यलाई अर्घ्य दिइन्छ । छठपर्वको अन्तिम दिन मङ्गलवार विहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर यो पर्वको समापन हुन्छ ।
मिथिलाको सबैभन्दा ठूलो पर्वको रूपमा रहेको छठका लागि जनकपुरधामका घाटहरू–गङ्गासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर, मटकोरर्वा पोखरीलगायतमा सजावट गरिएको छ । पारिवारिक सुख–समृद्धि र सन्तानको कल्याणको कामनासहित छठ पर्व मनाउने गरिन्छ ।
केही वर्ष पहिलासम्म तराई–मधेशमा सिमित छठ पर्व अहिले काठमाण्डौ उपत्यकासहित पहाड र हिमालसम्म नै मनाउन थालिएको छ ।




