काठमाडौँ । सरकारले फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचन सफल बनाउन आन्तरिक तयारी तीव्र पारेको जनाएको छ । गृह मन्त्रालयले निर्वाचनअनुकूल वातावरण बनाउन सबै पक्षलाई संयमित र जिम्मेवार हुन आग्रह गरेको समेत गरेको छ ।
शनिबार जारी विज्ञप्तिमा मन्त्रालयले सरकार सबै पक्षका जायज माग, चासो र सरोकारलाई सम्बोधन गर्न वार्ताका माध्यमबाट समाधान खोज्न तयार रहेको स्पष्ट पारेको छ।
मन्त्रालयको भनाइअनुसार सामाजिक सञ्जालमार्फत् विभिन्न व्यक्ति र समूहले धर्ना, जुलुस तथा प्रदर्शनका कार्यक्रम सार्वजनिक गरिरहेकोमा सरकारको ध्यानाकर्षण भएको छ। मन्त्रालयले यस्ता कार्यक्रममा स्वार्थ समूहले घुसपैठ गरी अराजकता मच्चाउने प्रयास हुन सक्ने चेतावनी दिँदै आयोजकहरूलाई सचेत रहन आग्रह गरेको छ।
भदौ २३ र २४ गतेको आन्दोलनपश्चात् क्षतिग्रस्त संरचनाको पुनर्निर्माण भई शान्ति सुरक्षा सामान्य अवस्थामा फर्किएको र देश निर्वाचनमुखी वातावरणतर्फ उन्मुख रहेको मन्त्रालयले जनाएको छ।
‘जेनजी आन्दोलन’को परिणामस्वरूप बनेको वर्तमान सरकारले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्रालयले निर्वाचन सम्बन्धी कानुन संशोधन, स्रोत–साधनको व्यवस्थापन र राजनीतिक दलहरू तथा सरोकारवालासँग निरन्तर संवाद भइरहेको जानकारी दिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘आफ्ना माग राख्दा जनताको शान्तिपूर्वक बाँच्ने, निर्वाध सेवा पाउने र निर्वाचनमा भाग लिन पाउने अधिकार कुण्ठित हुन नदिनु आवश्यक छ। सार्वजनिक सुरक्षा, राष्ट्रिय हित र साम्प्रदायिक सद्भाव कायम राख्दै सबैले सहयोग गर्नुपर्छ।’




