बुटवलमा नेपाल सम्वत ११४६ भव्य रूपमा मनाइयो

by समतल अनलाइन
72Shares

बुटवल। नेपाल सम्वत ११४६ (न्यु दया भिन्तुना) को स्वागतमा बुटवल उपमहानगरपालिकाले दोस्रो वर्ष पनि विशेष कार्यक्रम आयोजना गरेको छ।

गत वर्ष नेपाल सम्वतको कार्यक्रममा नेवा पुच बुटवल मात्र सहभागी रहेको भए पनि यस वर्ष बुटवलका सबै नेवार समुदायका संघ–संस्था, खल–पुचहरुको सहभागितासहित र्याली र सांस्कृतिक प्रदर्शन सम्पन्न भएको हो।

र्याली बुटवलका विभिन्न सडकहरू परिक्रमा गर्दै उपमहानगरपालिकाको प्राङ्गणमा विशेष समारोहसहित सम्पन्न भयो। लाखे नाच, कुमारी झाँकी, धिमे बाजा, ढोल, पञ्चे बाजा लगायतका आकर्षक झाँकीहरूले बुटवलको सांस्कृतिक विविधता झल्काएका थिए।

कार्यक्रममा मेयर खेलराज पाण्डेले नेपाल सम्वतलाई बुटवलमा निरन्तर मनाउन पाउँदा खुशी व्यक्त गर्दै भने, नेपाल सम्वत हाम्रो इतिहास, संस्कृति र पहिचानको प्रतीक हो। यसलाई नगरस्तरमै निरन्तरता दिनु बुटवलका लागि गर्वको कुरा हो।

उप–प्रमुख सावित्रा देवी अर्यालले नेपाल सम्वतले नेपाली समाजको मौलिकता र एकता झल्काउने बताइन्। उनले आगामी वर्षहरूमा अझ व्यापक र सहभागीमूलक रूपमा यो पर्व मनाइने योजना रहेको उल्लेख गरिन्।

नेवा पुच बुटवलका अध्यक्ष काजिमान श्रेष्ठले उपमहानगरपालिकाले दोस्रो वर्ष पनि नेपाल सम्वतलाई औपचारिक रूपमा मनाउन थालेको कदम ऐतिहासिक भएको बताए। उनका अनुसार, यसले हाम्रो मौलिक पहिचान र इतिहासको संरक्षणमा नयाँ ऊर्जा दिएको छ।

You may also like