काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूलाई जेनजी युवासँग संवादमा बस्न र अवस्था सामान्य बनाएर तोकिएकै समयमा निर्वाचनतर्फ अघि बढ्न आग्रह गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले दलहरूसँगको संवादका क्रममा भनिन्, ‘सरकार भयरहित वातावरणमा तोकिएकै समयमा निर्वाचन गराउन पूर्ण रूपमा कटिबद्ध छ। यसका लागि मन्त्रीहरू, सुरक्षा निकायका सदस्यहरूसहित हामी सबै अहोरात्र खटिरहेका छौँ।’
संवादमा ढिलाइ हुनुका कारणबारे स्पष्ट पार्दै उनले सरकार हालसम्म घाइतेहरूको उपचार, शहीदहरूको शव व्यवस्थापन, पीडित परिवारलाई राहत प्रदान गर्ने कार्य, तथा आन्दोलनकारी पक्षका आवाज सुन्ने जिम्मेवारीमा केन्द्रित रहेको बताइन् ।
उनका अनुसार, प्रारम्भिक चरणमा जेनजी युवाहरूले राजनीतिक दलहरूसँग संवादमा चासो नदेखाएका कारण तत्काल संवाद सम्भव नभएको हो। ‘राष्ट्रपतिज्यूबाट संवादको ढोका खोल्ने पहल भइसकेको छ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘अब जेनजी र दलहरू मिलेर संवादमा बसौँ, जसरी पनि परिस्थिति सामान्य पार्दै निर्वाचनतिर अघि बढ्नुपर्छ।’
चुनाव सफल बनाउन सबै पक्षलाई आ-आफ्नो तर्फबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आग्रह गरेकी हुन् ।