काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा सहभागी नहुने भनेर कुनै पनि राजनीतिक दलले नबताएको स्पष्ट पारेका छन् ।
निर्वाचन आयोगले केही समयअघि दलहरूसँग छलफलको थियो । ‘निर्वाचनमा जान्नँ भनेर कसैले भनेको छैन। दलहरूलाई मुख्य चासो भने शान्ति सुरक्षाप्रति देखिएको छ।’ उनले भने ।
‘दलहरूले भनेका छन्, हतियार बाहिर छन्, लुटेराहरूले लगेका छन्, प्रहरीको पोसाकसमेत बाहिर देखिएको छ,’ उनले भने, ‘प्रहरीलाई बस्ने ठाउँ छैन, यस्तो अवस्थामा आयोगले कसरी शान्तिपूर्ण निर्वाचन गराउँछ भन्ने चिन्ता उनीहरूले राखेका छन्।’
भण्डारीले सरकार शान्ति सुरक्षाको तयारीमा लागेको जानकारी दलहरूलाई दिइएको उल्लेख गरे। ‘सरकारले सुरक्षा व्यवस्थाको तयारी गरिरहेको छ भन्ने कुरा आयोगले स्पष्ट पारेको हो,’ उनले भने।
आयोग हाल निर्वाचनको तयारीमा सक्रिय रूपमा जुटिरहेको जानकारी दिँदै भण्डारीले भने, ‘मतदाता नामावली सङ्कलनको काम देशभरि भइरहेका छ, तर सबैभन्दा चुनौतीपूर्ण विषय भने निर्वाचनमा खटिने कर्मचारी व्यवस्थापन हो।’
उनका अनुसार आयोगले मितव्ययी तर प्रभावकारी ढङ्गले निर्वाचन सम्पन्न गर्ने लक्ष्य राखेको छ।