काठमाडौँ । यदि विपिन जोशी जीवित भएका भए आज उनको परिवार मात्र होइन, सिङ्गो देश खुसीले भरिन्थ्यो। सम्भवतः विमानस्थलदेखि घरसम्म उनलाई स्वागत गर्नेको लर्को लाग्थ्यो। तर, दुई वर्ष लामो प्रतीक्षापछि देशले विपिनलाई बाँच्दैन, मृत अवस्थामा फर्काइयो।
कञ्चनपुरका विपिन जोशी, जसलाई हमासले बन्धक बनाएको थियो, गाजामा निधन भएको पुष्टि भएपछि मंगलबार बिहान महाकाली नदी किनारको भुजेला घाटमा अन्त्येष्टि गरिएको हो।
अन्त्येष्टिका क्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले विपिनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान जनाए। त्यसपछि सशस्त्र प्रहरी बलको टुकडीले सलामी अर्पण गरी अन्तिम बिदाइ गरियो।
इजरायलले सार्वजनिक गरेको फरेन्सिक रिपोर्टअनुसार, हमासले बन्धक बनाएर टाउकोमा गोली हानी विपिनको हत्या गरेको उल्लेख छ। यो तथ्य हमासले गत असोज अन्तिम साता मात्रै सार्वजनिक गरेको थियो।
विपिन कृषि विज्ञान अध्ययनका लागि स्नातक तहमा अध्ययनरत रहँदै इजरायल पुगेका थिए। तर, सोही अवधिमा हमासको आक्रमणमा परेर उनलाई अपहरण गरिएको थियो।
उनको खोजीका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा दबाब सिर्जना गरिए पनि अन्ततः विपिन जीवित नरहेको पुष्टि भएको हो।
विभिन्न कानुनी र कूटनीतिक प्रक्रिया पूरा गरेर सोमबार दिउँसो विपिनको शव काठमाडौँ ल्याइयो, र साँझमा महेन्द्रनगरस्थित घरमा पुर्याइयो। मंगलबार बिहान भुजेल घाटमा उनका बुवा महानन्द जोशी र ठुलाबुवा रामदत्त जोशीले दागबत्ती दिए।
नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासले भुजेल घाटमै उपस्थित भएर इजरायली राष्ट्रपतिको शोक सन्देश सुनाए र इजरायली झण्डा ओढाएर सम्मान प्रकट गरे।
राजदूत नेतृत्वको टोली शवसँगै काठमाडौँदेखि महेन्द्रनगरसम्म पुगेको थियो। विपिनको काजक्रिया ठुलाबुवा रामदत्त जोशीले गरिरहेको पारिवारिक स्रोतले जनाएको छ।
शवयात्रामा जनप्रतिनिधि, इजरायली टोली, आफन्तजन र सर्वसाधारणको ठूलो सहभागिता थियो। विपिनको निधनले न केवल उनको परिवार, तर सिङ्गो नेपाललाई गहिरो शोकमा डुबाएको छ।