सरकार जेनजी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैन : प्रधानमन्त्री कार्की

by समतल अनलाइन
76Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजाने बताएकी छन् ।

मंगलबार बालुवाटारमा जेनजी आन्दोलनका घाइतेहरूसँगको भेटमा प्रधानमन्त्री कार्कीले सरकारले पाएको म्यान्डेट अनुसार काम गर्ने प्रतिबद्धता जनाइन् ।

उनले भनिन्, ‘हामी जेनजी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैनौँ। प्रक्रियासम्मत ढंगले कानुनी रुपमा तल नपर्ने गरी हामी काम गर्छौँ। हामीलाई दिइएको म्यान्डेटअनुसार चल्छौँ ।’

तोकिएको समयमै चुनाव हुने बताउँदै प्रधानमन्त्री कार्कीले भ्रष्टाचारको छानबिन गरिने बताइन् ।

राज्यका निकायहरूले तीव्र गतिमा भ्रष्टाचारको छानबिन गरिरहेको उनको दाबी छ ।

‘चुनाव पनि हुन्छ, भ्रष्टाचारको अनुसन्धान पनि हुन्छ । राज्यका स्थापित निकायले तीव्र गतिका साथ भ्रष्टाचारको छानबिन गरिरहेका छन्। आआफ्नो ठाउँबाट काम भइरहेको छ । तपाईँहरू बोल्न नछाड्नुहोस् । हामीलाई दबाब दिन पनि नछाड्नुहोस् । हेर्नुहोला, अब नतिजा आउँछ । छानबिनमा परेपछि बाहिर कसले केके बोलिरहेका छन्, सुन्नुभएकै होला,’ कार्कीले भनिन् ।

छलफलमा प्रधानमन्त्री कार्कीसँगै गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ, शिक्षामन्त्री महावीर पुन, सञ्चारमन्त्री जगदीश खरेल समेत सहभागी थिए ।

बालुवाटारमा मंगलबार बिहान १० बजेदेखि ४ घण्टाभन्दा बढी समय भएको छलफलमा जेनजी आन्दोलनका घाइतेहरू सरकारलाई भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुन सुझाव दिएका दिएका प्रधानमन्त्री कार्कीको सचिवालयले उल्लेख गरेको छ ।

भ्रष्टाचारीमाथि कारबाही नभए सडकमा उत्रिएर फेरि अर्को आन्दोलन गर्ने घाइतेहरूले चेतावनी पनि दिएका छन् ।

घाइते रुपिन खड्काको नेतृत्वमा बालुवाटार गएको १८ जनाको समूहले क्रान्तिबाट आएको सरकारले क्रान्तिकारी कदम चाल्नुपर्ने मत राखे ।

घाइतेहरूका तर्फबाट खड्काले भने, ‘जसका विरुद्ध हामीले आन्दोलन गरेका थियौँ, तिनीहरूलाई तत्काल पक्राउ गर्न केले छेकेको छ ? नियमले छेक्यो कि कानुन र संविधानले छेक्यो कि? जहाँ बाधा छ, त्यहीँबाट फुकाउनु सुरु गरौँ ।’

‘तपाईँ चुनाव चुनाव मात्र भनिरहनुभएको छ, के ०८४ को चुनाव ०८२ मा सार्न मात्र यो सरकार आएको हो ?’ घाइते प्रतिनिधिहरूको प्रधानमन्त्री कार्कीलाई प्रश्न थियो ।

कतिपय आरोपित व्यक्ति भाग्न खोजेको र अकुत सम्पत्ति लुकाउन लागेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका प्रधानमन्त्री कार्कीको सचिवालयले जानकारी दिएको छ ।

छलफलमा गृहमन्त्री अर्यालले भाग्न खोजेकाहरू, लुकेकाहरू पनि भाग्न नसक्ने अवस्था आएपछि ‘नेपालमै छु’ भनेर देखापर्न थालेको बताए । गृहमन्त्री अर्यालले भ्रष्टाचार र आन्दोलनमा भएको दमनबारे छानबिनमा भएको प्रगतिबारे अवगत गराएका थिए ।

You may also like