काठमाडौँ । इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने भएको छ।
प्रदेश सरकारका अनुसार यो सहायता मानवीय सहानुभूति स्वरूप प्रदान गरिँदैछ । मुख्यमन्त्री कमलबहादुर शाहका अनुसार २३ असोज २०८० मा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार विपिन जोशीसहित इजरायलमा मारिएका प्रत्येक विद्यार्थीका परिवारलाई दुई/दुई लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको थियो ।
मृतक सात नेपाली विद्यार्थीका परिवारलाई उक्त निर्णय बमोजिम सहयोग रकमको चेक तत्कालै हस्तान्तरण गरिएको थियो । तर, सो समयमा विपिन जोशीको अवस्था अज्ञात रहेकाले उनको परिवार सहयोग सूचीमा परेका थिएनन् । गत असोज २७ गते इजरायली अधिकारीहरूले जोशीको मृत्यु पुष्टि गरेका थिए।
स्वर्गीय जोशी सुदूरपश्चिम विश्वविद्यालयबाट बीएससी एग्रिकल्चर अध्ययन सकेर ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत ११ महिनाका लागि इजरायल गएका थिए । २०२३ अक्टोबर ७ मा भएको हमासको आक्रमणमा परी उनीसहित १० नेपाली विद्यार्थीको ज्यान गएको थियो।
मुख्यमन्त्री शाहले विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । विपिनको शव इजरायलबाट नेपाल ल्याइसकिएको छ।




