ओलीको असंवेदनशील प्रतिक्रिया : गोली मैले चलाएको छु र ?

by समतल अनलाइन
66Shares

काठमाडौँ । जेनजी आन्दोलनमा भएको नरसंहारप्रति तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले असंवेदनशील प्रतिक्रिया दिएका छन् ।

आइतबार सम्पादकहरूसँगको संवादमा ओलीले भदौ २३ गते बानेश्वर चोकमा जेनजी आन्दोलनमाथि भएको दमन र नरसंहारको जिम्मेवारी आफूले लिनु नपर्ने बताएका हुन् । प्रधानमन्त्रीका रूपमा उक्त घटनाप्रति आफू जबाफदेही नहुने तर्क उनले सम्पादकहरूलाई सुनाए ।

सम्पादकहरूसँगको छलफलमा ओलीले भने, ‘केपी ओलीले गोली चलेपछि इन्क्वायरी गरेर थाहा पाउँछ, नचलाउनु भनेको हो । त्यही दिन बेलुका मैले भनेको थिएँ- कसरी गोली चल्यो? घुँडामुनि राख्नुपर्ने गोली टाउको र छातीमा कसरी लाग्यो? किन यत्रो धेरै गोली चल्यो? किन यत्रो धेरै युवाहरू मरे? को जिम्मेवार? त्यसैले तत्काल क्याबिनेट राखेर न्यायाधीशको नेतृत्वमा छानबिन समिति बनाउने निर्णय गरेको हुँ। भोलिपल्ट समिति बन्ने तयारीमा थियो।’

पत्रकारहरूले घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने विषय उठाउँदा ओलीले आपत्ति जनाउँदै भने, ‘केही पत्रकारहरूको क्यामेराले कतै मैले गोली चलाएको देखाएको छ ? प्रधानमन्त्रीलाई थाहा पनि हुँदैन, आदेश दिने अधिकार पनि हुँदैन । पछि रिपोर्ट आउँछ अनि थाहा हुन्छ । त्यसपछि जिम्मेवार हुनुपर्ने ?’

ओलीले अन्य देशहरूमा पनि गोली चल्दा प्रधानमन्त्री वा राष्ट्रपतिले नैतिक जिम्मेवारी नलिएको दाबी गर्दै उनले भने, ‘कुन कुन देशमा को जिम्मेवार हुन्छ ? रङ्गभेदका कारण घाँटी थिचिएर मान्छे मरेको घटनामा राष्ट्रपतिको जिम्मेवारी हुन्छ ? कुनै विद्यालयमा दर्जनौँ विद्यार्थी मारिँदा राष्ट्रपतिको जिम्मेवारी हुन्छ ?

कार्यक्रम निर्धारित समयभन्दा धेरै ढिलो सुरु भएपछि करिब एक दर्जन सम्पादकहरू त्यसअघि नै कार्यक्रमस्थल छाडेर हिँडेका थिए । ओलीको प्रतीक्षा अनपेक्षित रूपमा लम्बिएको भन्दै उनीहरू बाहिरिएका थिए।

सम्पादकहरूले हल छाडेको केही समयपछि बाँकी सम्पादकहरूलाई अभिवादन गर्दै ओलीले हल प्रवेश गरे । यद्यपि, कार्यक्रम ‘सम्पादकसँग संवाद’ भनिए पनि ओलीको एकोहोरो मन्तव्यमै केन्द्रित रह्यो । पहिलो चरणमा ७ जना सम्पादकले मात्र प्रश्न गर्न पाए । जवाफ दिने क्रममा ओलीले लामो भाषण दिए । दोस्रो चरणमा प्रश्न लिने भनिए पनि कुनै प्रश्नै नलिई कार्यक्रम समापन गरिएको थियो ।

You may also like

This will close in 0 seconds