सरकारी अभिलेखमा भेटिएन तेन्जेनको नागरिकताको विवरण

by समतल अनलाइन
55Shares

काठमाडौँ । टीओबी लेखिएको टिसर्ट लगाई पेस्तोल बोकेर प्रदर्शनमा देखिएका तेन्जेन दावा लामाको नागरिकताको विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रहरीलाई ‘विवरण फेला नपरेको’ जवाफ दिएको छ ।

तेन्जेनले २०७९ असार २४ गते नागरिकता लिएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँले सो विवरण माग गर्दै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो।

जवाफमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार प्रदर्शनको क्रममा आगजनी भएको हुँदा केही कागजात जलेका थिए। त्यसैले तेन्जेनको नागरिकताको विवरण फेला परेन ।

बौद्ध बस्दै आएका तेन्जेन दावा लामा असोज २६ गते पक्राउ परेका हुन् । उनले काठमाडौँ महानगरपालिका–६ बौद्धमा २०६३ चैत १० मा जन्म दर्ता गराएको विवरण सार्वजनिक भएको छ। तर, उक्त मितिमा शनिवार परेको हुँदा कसरी जन्म दर्ता भयो भन्ने प्रश्न उठेको छ ।

यसबारे यकिन गर्न प्रहरी परिसरले वडा कार्यालयलाई पत्राचार गरिसकेको काठमाडौँ प्रहरी प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए । उनका अनुसार वडा कार्यालयबाट विवरण प्राप्त भएपछि थप अनुसन्धान अघि बढाइनेछ।

You may also like

This will close in 0 seconds