पोर्चुगल। वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल पुगेका तनहुँका एक नेपाली युवक पछिल्लो एक हप्तादेखि बेपत्ता भएका छन्।
तनहुँ, भानु नगरपालिका–९ पिपलपानीका ३४ वर्षीय जितेन्द्र पाण्डे गत साता सोमबारदेखि सम्पर्कविहीन भएका हुन्। उनी राजधानी लिस्बननजिकैको सिन्ट्रा क्षेत्रबाट हराएका हुन्।
पाण्डेका साथी विदुर तामाङका अनुसार उनी आइतबार राति साथीको फोन आएको भन्दै घरबाट बाहिरिएका थिए। त्यसपछि उनी फिर्ता नआएपछि र सोमबार काममा पनि नआएपछि खोजी सुरु गरिएको थियो।
‘पाण्डेले काम गर्ने कम्पनीमा सोमबार नआएपछि खोजी गर्न थाल्यौँ,’ तामाङले भने, ‘उनी बेपत्ता भएपछि नेपालस्थित परिवारलाई पनि जानकारी गराइएको छ।’
परिवारका अनुसार पाण्डेले नेपालमा रहेका आफन्तलाई अन्तिम पटक फोन गरेर केही दिन सम्पर्कमा नहुने बताएका थिए। त्यसपछि भने उनको मोबाइल बन्द भएको र हालसम्म कुनै सम्पर्क हुन नसकेको तामाङले बताए।
उनका अनुसार पाण्डेको रेसिडेन्सी कार्ड, बैंक कार्ड, राहदानीलगायतका सबै व्यक्तिगत सामान उनी बस्ने कोठामै फेला परेका छन्।
बेपत्ता पाण्डे करिब दुई वर्षअघि क्रोएसिया हुँदै पोर्चुगल पुगेका थिए र हाल सिन्ट्रास्थित एक प्याकिङ कम्पनीमा कार्यरत थिए। उनका घरमा वृद्ध बुबाआमा र दिदीबहिनी छन्।
यस घटनाबारे खबर पाएलगत्तै पोर्चुगलस्थित नेपाली दूतावासले स्थानीय प्रहरी प्रशासनसँग समन्वय गरी खोजी सुरु गरेको छ।
नेपाली राजदूत प्रकाशमणि पौडेलका अनुसार, “बेपत्ता पाण्डेप्रति हामी गम्भीर छौँ। स्थानीय प्रहरीसँग निरन्तर समन्वय भइरहेको छ र दूतावासले सक्दो सहयोग गरिरहेको छ।”
हालसम्म उनको अवस्था वा ठेगानाबारे कुनै ठोस जानकारी प्राप्त भएको छैन। स्थानीय प्रहरीले खोजी कार्य जारी राखेको जनाएको छ।