काठमाडौँ । यस वर्षको तिहारमा कुनै उल्लेखनीय ठुलो मौसमी प्रणालीको प्रभाव नरहे पनि पश्चिमी वायुको सामान्य प्रभावले देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तिहारको समयमा पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट वर्षा हुनसक्छ । उच्च हिमाली भू-भागमा हल्का वर्षा/हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले शनिबार जारी गरेको बुलेटिनअनुसार पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट वर्षा तथा उच्च हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको छ ।
यस्तो छ तिहार विशेष मौसम बुलेटिन :-
कार्तिक ३ (लक्ष्मीपूजा) : देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशहरूका पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ ।
कार्तिक ४ (औँसी) : देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशहरूका पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ ।
कार्तिक ५ (गोवर्धन पूजा) : देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
कार्तिक ६ (भाइटीका) : कोशी र मधेस प्रदेशलगायत देशका बाँकी पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । सबै प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।