काठमाडौँ । निर्वाचन तयारीलाई तीव्रता दिने उद्देश्यसहित गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् ।
गृहमन्त्री अध्यक्ष रहने सो समितिमा गृह तथा रक्षा सचिवहरू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख वा प्रतिनिधिहरू सहभागी हुनेछन् ।
शनिबार राष्ट्रपति निवास शीतल निवासमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग गहन छलफल भएको थियो । उक्त छलफल निर्वाचनका लागि अनुकूल राजनीतिक वातावरण निर्माण तथा सुरक्षा सुदृढीकरणमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
आइतबारको बैठकले केन्द्रीय एकीकृत निर्वाचन सुरक्षा समितिले तयार गरिरहेको सुरक्षा योजनाको प्रगति समीक्षासहित आवश्यक नीतिगत निर्देशन दिने जनाइएको छ।
गृह मन्त्रालयले एकीकृत निर्वाचन सुरक्षा समिति गठन गरिसकेको छ । जसको नेतृत्व शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखाका प्रमुख सहसचिव आनन्द काफ्लेले गरिरहेका छन् ।
एकीकृत निर्वाचन सुरक्षा योजना तीव्र गतिमा बनिरहेको गृह मन्त्रालयले जनाएको छ । साथै निर्वाचन आयोगसँग सघन समन्वय हुनुका साथै सुरक्षाका लागि आवश्यक स्रोतसाधन अभाव हुन नदिने गरी मन्त्रालयले गृहकार्य गरिरहेको छ ।