काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति कात्तिक १ गते शनिबार बस्ने गरी स्थगित भएको छ।
शुक्रबार पार्टी कार्यालयमा बसेको बैठकमा रमेश रिजाल, जीपछिरिङ लामा, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, प्रदीप पौडेल, डा. डिला सङ्ग्रौला, डा. गोपाल दहित लगायतले धारणा राखेका थिए।
विभिन्न १० वटा प्रस्तावहरूमा धारणा राख्ने क्रम जारी रहेकाले बैठक शनिबार बस्ने गरी स्थगित गरिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।
बैठकमा नेताहरूले कार्य तालिका निर्माण गरेर महाधिवेशनको मिति तोक्नुपर्ने समेत जनाएका छन् । बैठकमा जेनजी आन्दोलनपछिको परिस्थिति, संसद विघटन, प्रतिनिधिसभा निर्वाचन, पार्टीको भातृ सङ्गठन लगायतका विषयमा केन्द्रीय सदस्यहरूले धारणा राखेको प्रवक्ता महतले बताए।
त्यस्तै निर्वाचनको मिति तय भए पनि सरकारले त्यसको तयारी गर्न नसकेको, राजदूत फिर्ताको काम लगायतका विषयमा पनि धारणा आएको उनको भनाइ छ। कांग्रेस केन्द्रीय कार्यसमिति शनिबार बस्ने र त्यसपछि छठ पछि बस्ने गरी तय गरिने उनले जानकारी दिए।
त्यस्तै, सरकारले राजदूत फिर्ता बोलाएकोमा आपत्ति जनाएको छ। कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले छिन छिनमा राजदूत परिवर्तन गर्ने कुराले अन्तर्राष्ट्रिय जगतमा राम्रो सन्देश नजाने बताए।
यसले अन्तर्राष्ट्रिय कूटनीतिमा असर पर्ने कांग्रेस बैठकमा कुरा उठेको उनले जानकारी दिए। सरकारको ध्यान निर्वाचन गराउनुमा केन्द्रित हुनुपर्नेमा राजदूत फिर्ता बोलाएर अन्तर्राष्ट्रिय कूटनीतिमा प्रश्न उठ्ने खालको गतिविधि गरिरहेको आरोप लगाए।
उनले भने, ‘अहिले सरकारले निर्वाचन गराउने भनेर भनिरहेको छ। तर निर्वाचन गराउने कुरामा सरकार गम्भीर भएको देखिँदैन। अहिले फेरि राजदूतहरू फिर्ता गरिएको छ। छिनछिनमा राजदूत परिवर्तन गर्ने कुराले अन्तर्राष्ट्रिय कूटनीतिमा असर पर्ने कुरा पनि बैठकमा उठेको छ। अहिले सरकारले सम्पूर्ण ऊर्जा र शक्ति निर्वाचन गराउनेतर्फ लगाउनुपर्थ्यो। तर त्यसो गरेको देखिँदैन।’
शुक्रबारको बैठकमा एजेन्डामाथि नेताहरूले आफ्नो धारणा राख्ने क्रम नसकिएको शनिबार फेरि बस्ने गरी बैठक स्थगित गरिएको हो ।