एमालेको एघारौं महाधिवेशन मंसिर २७ देखि पोखरामा हुने

by समतल अनलाइन
70Shares

काठमाडौँ । नेकपा (एमाले) ले ११औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने निर्णय गरेको छ । शुक्रबार सम्पन्न केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी ओलीको मुलुकको राजनीतिक परिस्थिति र हाम्रो नीति विषयक विशेष प्रस्ताव पारित गर्दै ११ औँ महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

बैठकले संसद् पुनर्स्थापनाको विकल्प नभएको निष्कर्ष निकाल्दै यसका लागि लोकतन्त्र र संविधान पक्षहरूसँग सहकार्य गर्ने निर्णय गरेको गौतमले बताए।

बैठकले मुलुकमा राष्ट्रिय एकता कायम गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने र त्यसका लागि पार्टी एकताबद्ध भएर अघि बढ्ने निर्णय गरेको जानकारी दिए। जेनजी आन्दोलनका क्रममा भएको घुसपैठको स्वतन्त्र निष्पक्ष छानबिन गर्दै दोषीमाथि कारबाही गर्न बैठक माग गरेको छ।

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले महाधिवेशनको मितिसहितको राजनीतिक प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदन हलबाट पारित भएको छ । तर, प्रतिवेदन पारित गर्ने क्रममा विवाद भएपछि उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले प्रतिवाद गरेका थिए ।

त्यस्तै ५० जना केन्द्रीय सदस्यहरूले पूर्वराष्ट्रपति बिदादेवी भण्डारीको सदस्यता नवीकरण गर्न आग्रह गरेपछि अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग कुरा गर्ने बताएका छन् ।

‘विद्या भण्डारीले मलाई फोन गर्नुभएको थियो, म व्यस्त भएर फोन उठाउन पाइनँ । बैठक सकिएपछि उहाँसँग कुरा गर्नेछु,’ ओलीले भने ।

उनले भण्डारीले निवेदन दिए पार्टी सदस्यताबारे निर्णय गर्न सकिने सङ्केत गरे । ‘मैले पहिला पनि भनेको हो सदस्यताका लागि निवेदन दिन तर, उहाँले दिनुभएको छैन । दिनुभयो भने निर्णय गर्न सकिन्छ,’ उनले भने ।

You may also like