जेनजी आन्दोलनमा सेनाले दियो १९० भिआइपीलाई सुरक्षा

by समतल अनलाइन
90Shares

काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा १९० जना भिभिआइपी, भिआइपी र तिनका परिवारलाई सुरक्षा दिएको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाले शुक्रबार पत्रकार सम्मेलन गर्दै ती मध्ये ६१ जनालाई हेलिकप्टरमार्फत उद्धार गरेर सुरक्षित स्थानमा लगिएको र बाँकी १२९ जनालाई स्थल मार्गबाट सेनाको सुरक्षामा स्थानान्तरण गरिएको जानकारी दिएको छ ।

सेनाको युद्धकार्य विभागद्वारा आयोजित पत्रकार सम्मेलनमा विभागका प्रमुख उपरथी अनुपजंग थापाले आन्दोलनको संवेदनशील अवस्थालाई ध्यानमा राख्दै विभिन्न उच्चपदस्थ व्यक्तिहरू र संरचनाको सुरक्षा गरिएको जानकारी दिए। उनका अनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारबाट सेनाको ब्यारेकमा लगेर सुरक्षा दिइएको थियो।

त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वप्रधानमन्त्रीहरू, तत्कालीन मन्त्रीहरू, शीर्ष नेताहरू तथा तिनका परिवारहरूलाई पनि सेनाको ब्यारेकमा सुरक्षित राखिएको सेनाले जनाएको छ ।

महत्त्वपूर्ण संरचनाहरूको पनि सुरक्षा गरिएको उल्लेख गर्दै उपरथी थापाले भने, ‘अहिले नै हामीले के गर्‍यौँ र कुन अवस्थामा गर्‍यौँ भन्ने कुराको महत्त्व कम होला, तर आउँदा दिनमा प्रस्ट थाहा पाउनु हुनेछ।’

सेनाले पत्रकार सम्मेलनमार्फत ४८४ स्थानमा आन्दोलन भएको जनाएको छ । सेनाका अनुसार ६८८ वटा सरकारी कार्यालय, २५९ वटा निजी निवास, १२८ वटा व्यापारिक प्रतिष्ठान, १९८ वटा राजनीतिक दलका कार्यालय, ३०७ वटा प्रहरी कार्यालयमा आगजनी तथा तोडफोड भएको छ ।

You may also like