काठमाडौँ । नेपालले अपराजित रहेर आइसिसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ ।
शुक्रबार अन्तिम खेलमा सामोआलाई १२४ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको हो । नेपालले दिएको २१२ रनको विशाल लक्ष्य पछ्याएको सामोआले २० ओभरमा ७ विकेट गुमाएर ८७ रन मात्र बनायो ।
नेपालले ११ वर्षपछि पहिलो पटक आइसिसीको प्रतियोगितामा कुनै उपाधि जितेको हो । यसअघि सन् २०२३ मा विश्वकप छनोटमा नेपाल फाइनलमा ओमानसँग सुपर ओभरमा पराजित भएको थियो ।
पछिल्लो पटक नेपालले सन् २०१४ मा आइसिसी डिभिजन चारको उपाधि जितेको थियो । त्यसअघि सन् २०१० मा डिभिजन ४ को उपाधि जितेको थियो । २०१४ यता आइसिसीको आयोजनामा हुने छनोटलगायतका प्रतियोगिता नेपालले जित्न सकेको थिएन ।
नेपालले समूह चरणमा कुवेत र जापानलाई हराएको थियो । कुवेत समूह चरणबाट अघि नबढेकाले जापानसँगको जितको २ अंक बोकेर सुपर सिक्समा पुगेको नेपालले सुपर सिक्सको पहिलो खेलमै युएईमाथि १ रनको रोमाञ्चक जित निकालेको थियो ।
तेस्रो खेलमा ओमानमाथि भने नेपालले ३८ रनको जित निकाल्यो र उपाधिकै नजिक पुगेको थियो । छनोटबाट नेपाल, यूएई र ओमानले आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा हुने टी-२० विश्वकपको टिकट काटिसकेका छन् ।
त्यस्तै, राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरूले जनही १९ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने भएका छन् । राष्ट्रिय खेलकुद परिषदका अनुसार खेलकुद विकास नियमावली २०७९ अनुसार सो पुरस्कार रकम पाउने भएका हुन् ।
खेलकुद विकास नियमावलीमा खेलाडीहरूलाई प्रदान गरिने पटके पुरस्कारलाई व्यवस्थित गरिएपछि खेलाडीहरूले सो पुरस्कार पाउने भएका हुन् । नियमावलीको अनुसूची ४ अन्तरगतको व्यवस्था अनुसार यदि नेपालले विश्वकप नै जितेको खण्डमा खेलाडीले जनही ३२ लाख ५० हजार रुपैयाँ पाउँछन् । यस्तै, उपविजेता भएको खण्डमा जनही २६ लाख र तेस्रो भएमा १९ लाख ५० हजार दिने व्यवस्था छ ।
विश्वकप छनोट प्रतियोगितामा पहिलो भएको अवस्थामा पनि प्रत्येक खेलाडीले १९ लाख ५० हजार पाउने व्यवस्था गरिएको छ । दोस्रो भएमा १३ लाख र तेस्रो भएमा ९ लाख १० हजार पाउँछन् । यही नियमावली अनुसार २०२४ को विश्वकप छनोट प्रतियोगितामा नेपाल दोस्रो हुँदा खेलाडीले १३ लाख जनही पाएका थिए ।