काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग र आदिवासी जनजाति आयोगले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।
शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आफ्नो आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाए । त्यसैगरी आदिवासी जनजाति आयोग नेपालका अध्यक्ष रामबहादुर थापा मगरले पनि संविधानको धारा २९४ बमोजिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष प्रस्तुत गरे ।
प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले लोकतान्त्रिक प्रणाली सुदृढ बनाउन निर्वाचन आयोगको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै आयोगको कार्यप्रदर्शनले लोकतान्त्रिक अभ्यासलाई अझ सुदृढ पार्ने विश्वास व्यक्त गरे । उनले आदिवासी जनजाति आयोगको प्रतिवेदनमा समेटिएका सुझाव र सिफारिसलाई कार्यान्वयन गर्न सम्बन्धित निकायलाई ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा राष्ट्रपति कार्यालयका उच्च अधिकारीहरू, निर्वाचन आयोगका पदाधिकारीहरू र आदिवासी जनजाति आयोगका प्रतिनिधिहरू उपस्थित थिए ।