निर्वाचन बिथोल्ने तत्त्वहरू सक्रिय छन् : गृहमन्त्री अर्याल

by समतल अनलाइन
69Shares

काठमाडौँ।गृहमन्त्री ओमप्रकाश अर्यालले केही तत्त्वहरू निर्वाचन बिथोल्न सक्रिय भएको आरोप लगाएका छन्।

भक्तपुर जिल्ला समन्वय समितिको कार्यालय अनुगमनका क्रममा सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो बताएका हुन्। उनका अनुसार निर्वाचनको माहोल बिगार्न खोज्नेहरूलाई सरकारले सुरुमा सम्झाउनेछ । नमाने कडा कदम चालिने चेतावनी दिएका छन् ।

उनले भने, ‘केही तत्त्वले भड्काउन खोजेको देखिन्छ । सक्दा सम्झाउँछौँ, नभए सरकारले आफ्नो तरिकाले काम गर्छ । जसरी भए पनि निर्वाचन तोकिएको मितिमै हुन्छ।’

मन्त्री अर्यालले वर्तमान सरकार स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन बनेको भन्दै तय भएको मितिमै चुनाव हुने उनको दाबी छ । सरकारले सरोकारवालालाई संवादमा आउन आह्वान गरेको पनि उनले बताए ।

‘सबै पक्ष संवादमा आउनुपर्छ । राष्ट्रपतिज्यूले पनि संवाद सुरु गरिसक्नुभएको छ । हामी पनि आह्वान गर्दैछौं । यस्तो अवस्थामा कसैले परिस्थितिलाई भड्काउन हुँदैन,’ उनले भने।

उनले प्रहरी कर्मचारी लगायतको मनोबल उकास्ने काम पनि सरकारले गरिरहेको बताए । व्यापक राजनीतिक हस्तक्षेप भएको कारण प्रहरीको मनोबल गिरेको दाबी गर्दै उनले वर्तमान सरकारले उठाउने कोसिस गरिरहेको बताए । राजनीतिक दलहरूले प्रहरीको दुरुपयोग गरेको उनको भनाइ थियो।

You may also like