४५औं विश्व खाद्य दिवस आज, ‘राम्रो खाना र राम्रो भविष्यका लागि हातेमालो’ नारा

by समतल अनलाइन
57Shares

काठमाडौँ । आज (अक्टोबर १६) विश्वभर ४५औं विश्व खाद्य दिवस मनाइँदैछ।
‘राम्रो खाना र राम्रो भविष्यका लागि सँगै हातेमालो गर्दै’ भन्ने मूल नारासहित बिहीबार विभिन्न कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाइँदैछ।

विश्व खाद्य दिवस सन् १९७९ नोभेम्बरमा संयुक्त राष्ट्रसंघको २०औं साधारण सभाले पारित गरेको प्रस्तावअनुसार सन् १९८१ देखि मनाइँदै आएको हो।
संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि सङ्गठन (एफएओ) को आह्वानमा हरेक वर्ष अक्टोबर १६ तारिखमा यो दिवस मनाइन्छ।

विश्वमा बढ्दो भोकमरी र कुपोषण

संयुक्त राष्ट्रसंघका तथ्याङ्कअनुसार हाल विश्वभर झन्डै ७० करोडभन्दा बढी मानिसले नियमित रूपमा पर्याप्त खाना पाउँदैनन्।
विशेषगरी बालबालिका र गर्भवती महिलामा कुपोषण गम्भीर समस्या बनेको छ।
नाइजेरिया, सुडान, कङ्गो, सिरिया, यमन, इथियोपिया, म्यानमार, बङ्गलादेश, पाकिस्तान र अफगानिस्तानजस्ता देशहरू अहिले पनि तीव्र भोकमरीको अवस्थाबाट गुज्रिरहेका छन्।

नेपालमा खाद्य सुरक्षाको चुनौती

नेपालजस्ता विकासशील देशहरूमा पनि खाद्य सुरक्षाको अवस्था चुनौतीपूर्ण रहँदै आएको छ।
पहाडी र हिमाली क्षेत्रका धेरै गाउँहरूमा अझै पनि वर्षभरिका लागि पर्याप्त अन्न पुग्दैन।
कतिपय परिवारहरू आयस्रोतको अभाव, जमिनको असमान स्वामित्व, र कृषि उत्पादनमा घट्दो निर्भरता कारण भोकमरीको जोखिममा छन्।

सहर क्षेत्रमा भने अत्यधिक प्रशोधित (प्रोसेस्ड) र पोषणहीन खाना खाने प्रवृत्तिले स्वास्थ्यसम्बन्धी समस्या बढाएको छ।
खाद्य समस्या केवल अभावसँग मात्र नभई गुणस्तर र पोषण सन्तुलनसँग पनि जोडिएको हुन्छ।

आत्मनिर्भरता र नीति सुधारको आवश्यकता

सरकारले कृषि उत्पादन वृद्धिका लागि विभिन्न नीति र योजना बनाइरहे पनि कार्यान्वयनमा अझै सुधार आवश्यक देखिएको छ।
किसानलाई उत्पादनका लागि आवश्यक मल, बीउ, सिंचाइ सुविधा र बजारको सुनिश्चितता नभएसम्म देशमा खाद्य आत्मनिर्भरता सम्भव देखिँदैन।

विशेषज्ञहरूका अनुसार कृषिमा लगानी, जलवायु सहनशील खेती र पोषणयुक्त उत्पादन प्रवर्द्धन गर्न सके मात्र नेपालमा दीर्घकालीन खाद्य सुरक्षाको लक्ष्य हासिल गर्न सकिन्छ।

You may also like