काठमाडौँ । शिक्षामन्त्री महाविर पुनले सिटिभिटीइको २०६९ देखि सम्बन्धनका लागि दिइएका आवेदनहरूमध्ये अहिलेसम्म सम्बन्धन नपाएका आवेदनहरूको छानबिन गर्न कार्यदल गठन गरेका छन्।
मन्त्री पुनका अनुसार, यो कार्यदलले सबै निवेदनहरूको समीक्षा गरेर मङ्सिर महिनाभित्र नतिजा सार्वजनिक गर्नेछ।
त्यस्तै, मन्त्री पुनले जानकारी दिएका छन् कि नेपाल खुला विश्वविद्यालयमा रिक्त रहेका १० जना सिनेटर र शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा रिक्त रहेका ७ जना सिनेटर पदमा उनले कुनै राजनीतिक दबाब नभएको निष्पक्ष प्रक्रियाबाट नियुक्ति गरिसकेका छन्। यसले पहिले सिनेटर नभएको कारण रोकिएका कामहरू अघि बढाउन मद्दत पुगेको छ।
अर्कोतर्फ, उनले विज्ञान तथा प्रविधि मन्त्रालयलाई शिक्षा मन्त्रालयबाट छुट्टाएर स्वतन्त्र मन्त्रालय बनाउने र विज्ञान, प्रविधि, नवप्रवर्तन, सूचना प्रविधि, जल तथा मौसम विज्ञानसम्बन्धी सबै कामहरू सोही मन्त्रालयमार्फत सञ्चालन गर्ने विषयमा छलफल सुरु भएको जानकारी दिएका छन्।
मन्त्री पुनले विश्वविद्यालयहरूमा पहिलेका सरकारको पालामा राजनैतिक भागबन्डाका कारण रिक्त रहेका धेरै पदहरूमा योग्य पदाधिकारीहरू निष्पक्ष रूपमा चयन गर्ने काम अघि बढाएको बताए र यस प्रक्रियामा कुनै भनसुन नलाग्ने स्पष्ट पारेका छन्।