अर्थदृष्टि’ पुस्तकमाथि बुटवलमा परिचर्चा, आर्थिक रुपान्तरणका नयाँ मोडेलबारे छलफल

by समतल अनलाइन
80Shares

बुटवल । अर्थराजनीतिक विश्लेषक तथा अर्थविद् मनिकर कार्कीको हालसालै प्रकाशित ‘अर्थदृष्टि’ पुस्तकमाथि सोमबार बुटवलमा पुस्तक परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । पुस्तकको दोस्रो संस्करण प्रकाशनको अवसरमा आर्थिक अनुसन्धान केन्द्र नेपालको आयोजनामा कार्यक्रम गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डा. बावुराम ज्ञवालीले पुस्तकमा समावेश विषयवस्तु सबैले सजिलै बुझ्ने गरी सरल भाषामा प्रस्तुत गरिएको उल्लेख गर्दै यसलाई सबैका लागि उपयोगी अध्ययन सामग्री हुन सक्ने बताउनुभयो । उहाँले देशको विकासका लागि स्पष्ट आर्थिक दृष्टिकोण निर्माणको आवश्यकता औंल्याउँदै निजी क्षेत्रको मनोबल उच्च राख्न राज्यको ध्यानाकर्षण गराउनुभयो । ज्ञवालीले पुस्तकमा निजी क्षेत्रको भूमिकालाई बलियो रूपमा उठान गरिएको र आर्थिक रूपान्तरणका लागि नयाँ मोडेल प्रस्ताव गरिएको कारण नीति–निर्माताका लागि पुस्तक सन्दर्भ सामग्री बन्न सक्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले नेपाली अर्थतन्त्रका चुनौती समाधानका लागि आयातित होइन, मौलिक आर्थिक विचार र मोडललाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँका अनुसार यो पुस्तकले नेपाली अर्थतन्त्रलाई अगाडि बढाउने सन्दर्भ सामग्रीको रूपमा काम गर्नेछ ।

त्यसैगरी विशिष्ट अतिथि नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेलले राज्यले स्थानीय उद्यमीलाई नेपालमै लगानी गर्ने वातावरण बनाउन ढिलाइ गर्दा युवा उद्यमी उत्पादन हुन नसकेको बताउनुभयो । उहाँले नेपाली उद्योगहरू कच्चा पदार्थ, जनशक्ति र नीतिगत समस्यामा अल्झिँदा पूँजी पलायन बढिरहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईंले पुस्तकले उठान गरेका सवालमा सूक्ष्म विश्लेषणसहित नीति निर्माणमा प्रयोग गर्न सकिने सुझाव दिनुभयो ।
पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले देशमा उत्पन्न सामाजिक, आर्थिक र राजनीतिक संकट समाधानका लागि लेखकहरूले निजी क्षेत्रलाई उत्साहित पार्ने दृष्टिकोणबाट लेख्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै प्राध्यापक राजेन्द्र लम्सालले आर्थिक विकास र समृद्धिको सवालमा पुस्तकले वर्तमान अन्यौलतालाई नयाँ दिशा दिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा कृष्ण पाण्डे, सञ्जिव भण्डारी, गणेश घिमिरे, नवीन सुनुवार, सन्देश चापागाईंलगायतले पुस्तकमाथि आफ्ना धारणा राख्दै लेखकलाई सुझाव दिएका थिए ।

कार्यक्रममा आफ्नो लेखकिय अनुभव साझा गर्दै लेखक मनिकर कार्कीले दोस्रो संस्करणमा अर्थशास्त्रीय तथ्याङ्क अद्यावधिक गर्नुका साथै समय र सन्दर्भअनुसार केही नयाँ विश्लेषण थपिएको बताउनुभयो । उहाँले पुस्तकमा नेपालको आर्थिक इतिहास पुनरावलोकन गर्दै समाज र अर्थतन्त्रको ऐतिहासिक चरित्र उजागर गर्न खोजिएको जानकारी दिनुभयो ।

सो कार्यक्रम संस्थाका अध्यक्ष हुमराज भुसालको अध्यक्षतामा र कोषाध्यक्ष जीवन परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।

You may also like