कांग्रेसभित्र विशेष महाधिवेशनको तयारी, हस्ताक्षर बुझाउन इतर समूह तयार

by समतल अनलाइन
235Shares

काठमाडौँ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन माग गर्दै संस्थापन इतर समूहले बुधबार कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाउने तयारी गरेको छ।

कांग्रेसका महामन्त्री गगन थापाले कार्यवाहक सभापतिले बुधबार अपराह्न ३ बजे हस्ताक्षर ग्रहण गर्ने जानकारी दिएका हुन् । मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भेला भएका महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै महामन्त्री थापाले सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठकमार्फत महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गरेका कारण आज हस्ताक्षर नबुझाउने निर्णय गरिएको बताए।

देउवाले मंगलबार बसेको केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति तोकेर बाँकी जिम्मेवारी केन्द्रीय समितिलाई सुम्पिएको र सम्भवतः सभापतिको रूपमा यो अन्तिम सम्बोधन हुन सक्ने भन्दै त्यसको सम्मान स्वरूप आज अन्य कार्य हस्ताक्षर बुझाउने काम स्थगन गरिएको महामन्त्री थापाले बताए ।

‘सभापति देउवाले एकताको आह्वान गर्दै १५औँ महाधिवेशन विधानअनुसार मंसिर मसान्तभित्र गर्ने बताएका छन् । त्यसैले हामीले आज हस्ताक्षर बुझाउने प्रक्रिया रोक्यौँ र भोलि मात्रै बुझाउने निर्णय गर्‍यौँ।’ महामन्त्री थापाले भने।

कांग्रेसमा ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित विशेष कारण खुलाएर विशेष महाधिवेशन माग गर्ने तयारी भइरहेको छ।

You may also like

This will close in 0 seconds