काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले दुई दिनभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेकी छन् । हाल ८ सदस्यीय रहेको उनको मन्त्रीमण्डलमा थप तीनजना सहभागी गराउने गृहकार्य अघि बढेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीनिकट एक स्रोतका अनुसार मन्त्रालयहरूमा नयाँ अनुहार ल्याउने तयारी भए पनि बाहिर चर्चामा आएका नामहरूमाथि कुनै औपचारिक छलफल भएको छैन ।
प्रधानमन्त्री कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनालले पनि सरकार विस्तारको तयारी रहेको पुष्टि गरेका छन्। ‘छलफल हुँदैछ। सम्भवतः दुई दिनभित्रै क्याबिनेट विस्तार हुन्छ,’ उनले भने।
खनालका अनुसार हाल तीनजना मात्रै थप गर्ने तयारी गरिएको छ । पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्की स्वयं पनि क्याबिनेट धेरै ठूलो बनाउने पक्षमा छैनन् ।
हाल प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषदमा रामेश्वर खनाल, कुलमान घिसिङ, ओमप्रकाश अर्याल, अनिलकुमार सिन्हा, महावीर पुन, मदनप्रसाद परियार र जगदीश खरेल गरी ८ मन्त्री छन् ।




