रुपन्देहीमा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने

by समतल अनलाइन
46Shares

बुटवल । रुपन्देहीमा देउसी–भैलो राति ९ बजेसम्म मात्र खेल्न पाइने भएको छ । तिहार सुरु भएपछि खेलिने देउसी–भैलोको क्रममा मादक पदार्थ सेवन (मापसे) गरेको पाइएमा कानून अनुसार कारबाही गरिने भएको हो ।

रुपन्देही जिल्ला सुरक्षा समितिको बैठकले तिहारमा सम्भावित अपराध र अवाञ्छित गतिविधि नियन्त्रणका लागि देउसी–भैलो राति ९ बजेसम्म मात्र खेल्न पाउने निर्णय गरेको हो । साथै, सहभागीहरूले मादक पदार्थ सेवन गर्न नपाउने पनि निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले जानकारी दिए ।

उनका अनुसार तिहारमा शान्ति–सुरक्षा कायम गर्न र सामाजिक सद्भाव नबिग्रियोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो । “चाडपर्वमा हुने भीडभाडका कारण कुनै अप्रिय घटना नहोस् भन्ने हाम्रो प्राथमिकता हो,” उनले भने ।

जेन–जेड आन्दोलनपछि उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै समाजमा शान्ति–सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले रुपन्देही प्रशासनले चाडपर्व लक्षित सुरक्षा योजना तयार पारेको छ । सो योजना जिल्लाका १६ वटै स्थानीय तहमा परिपत्र गरिसकिएको प्रशासनले जनाएको छ ।

सुरक्षा योजना आइतबारदेखि सुरु भई छठ पर्वको अर्को दिनसम्म लागू हुने बताइएको छ । उक्त अवधिभर सादा पोशाकका प्रहरीहरू व्यापक रूपमा खटाइने छन् भने राति–दिन गस्ती बढाइने छ ।

प्रशासनले छठ पर्वका अवसरमा घाट क्षेत्रहरूलाई सुरक्षित बनाउन पनि विशेष तयारी गरेको छ । छठ घाटको स्थान निर्धारण गरी तारबार र डोरी टाँगेर सुरक्षा व्यवस्था बलियो बनाइने बताइएको छ ।

You may also like