काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्न नहुने बताएका छन् ।
हाल श्रीमती रविलक्ष्मी चित्रकारको उपचारका लागि भारतमा रहेका नेता खनालले पार्टीका पदाधिकारीहरूलाई पत्र लेखेर एकताको विपक्षमा लाग्न आग्रह गरेका हुन् ।
हाल माओवादी केन्द्र, एकीकृत समाजवादी र महिन्द्र यादव नेतृत्वको समूहबीच पार्टी एकताका लागि छलफल चलिरहेको छ ।
पार्टी एकताबारे छलफल गर्न एकीकृत समाजवादीको सचिवालय बैठक पनि जारी छ । यस्तो बेलामा सम्मानित नेता खनाल पार्टी एकताको विपक्षमा उभिएका छन् । उनले माओवादीसँगको एकता स्वीकार्य नभएको भन्दै उनले फरक मत सार्वजनिक गरेका हुन् ।
खनालले भारतबाट पदाधिकारीहरू पत्र लेख्दै भनेका छन्, ‘यतिबेला हाम्रो पार्टीको निम्ति कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन र छैन । हामी कोही पनि गलत बाटो हिँड्दै भड्खालोमा पर्ने र अरूलाई पार्ने दिशामा नलागौँ ।’
यस्तै उनले जेनजी आन्दोलन सबै पुस्ताको क्रान्तिकारी पुनर्गठन र रूपान्तरणको माग हो भन्दै त्यसलाई अस्वीकार गरेर कोही अघि जान नसक्ने स्पष्ट पारेका छन् ।
‘युवाहरूको जबरजस्त प्रदर्शन र त्यसपछि मुलुकको राजनीतिमा आएको परिवर्तनहरूले हाम्रो मुलुकको समग्र राजनीतिमा उथलपुथल, विभाजन, पुनर्गठन र रूपान्तरणको प्रक्रियालाई गति प्रदान गरेको छ,’ खनालले पठाएको पत्रमा उल्लेख छ ।
साथै उनले देश, जनता र वामपन्थी आन्दोलनलाई नयाँ धरातलबाट उठाउन प्रत्येक पार्टीमा पुनर्गठन र रूपान्तरण अनिवार्य भएको पनि बताएका छन् ।
‘हरेक सानाठूला पार्टीहरूमा र खुद जेनजी समूहमा समेत उथलपुथल र विभाजन भइरहेका छन् । त्यसले गर्दा सबैतिर सर्वत्र पुनर्गठन र रूपान्तरणको माग उठिरहेको छ,’ खनालले भनेका छन्, ‘पार्टी रूपान्तरण जनता, राष्ट्र, युग र समयको माग हो’ भन्दै उनले फगत पुस्तावादको माग मात्र नभएको उल्लेख गरेका छन् ।
गएको भदौ २४ गते जेनजी आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्री खनालको घरमा आगजनी हुँदा पत्नी रविलक्ष्मी जलेर घाइते भएकी थिइन् । उनको कीर्तिपुर बर्न अस्पतालमा उपचारपछि थप उपचारका लागि भारत लगिएको हो ।