कैलाली । कैलालीमा अनौठो घटना भएको छ एक जना युवाको हत्या भएको छ । कैलालीको घोडाघोडी नगरपालिका–८ जरैका २८ वर्षीय केशरबहादुर बुढाको हत्या गरेर टाउको छिनाएपछि टाउको लिएर दुई युवा प्रहरी चौकीमा पुगेका छन् ।
घोडाघोडी–८ का १९ वर्षीय गंगा बुढा क्षेत्री र १८ वर्षीय बलबहादुर विक छिनालिएको टाउको लिएर आफैं प्रहरी चौकी पुगेका थिए । बुढाको हत्यापछि छिनाएको टाउको आफैंले बोकेर उनीहरू करिब एक घन्टा पैदल हिँडेर प्रतिखेत प्रहरी पोस्ट पुगेको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी रमेशदत्त अवस्थीले मध्यराति मानिसको टाउको हातमा लिएर आएका दुई जनालाई देखेपछि सोधपुछपछि हिरासतमा लिएको बताएका छन् । दुवैले निहुँ खोजेपछि उसको हत्या गरी टाउको बोकेर आएको बताएका छन् ।
शुक्रबार राति मदिरा सेवन गर्ने क्रममा उनीहरूबीच आपसी विवाद भएपछि घरबाट हँसिया ल्याएर दुई जना मिली केशरबहादुरको घाँटी रेटेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ । बुढाको शरीर भने घटनास्थलमै रहेको प्रहरीले बताएको छ । हत्या गरिएका केशरबहादुरको टाउको भने इलाका प्रहरी कार्यालय सुखडमा राखिएको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।




