काठमाडौँ । नेपालले अमेरिकाका राष्ट्रपतिले प्रस्ताव गरेको ‘मध्य पूर्व शान्ति योजना’ को पहिलो चरण कार्यान्वयन गर्न इजरायल र हमासबीच भएको सम्झौताको स्वागत गरेको छ ।
परराष्ट्र मन्त्रालयले विहिबार विज्ञप्ति जारी गर्दै इजरायल र हमासबीच भएको सम्झौताको स्वागत गरेको हो ।
मन्त्रालयले ७ अक्टोबर २०२३ देखि हमासद्वारा हिरासतमा रहेका नेपाली नागरिक बिपिन जोशी लगायत सबै बन्धकहरूको तत्काल रिहाइको लागि आह्वान समेत गरेको छ ।
मन्त्रालयले भनेको छ- हामी सम्बन्धित सबै पक्षहरूलाई योजनालाई यसको वास्तविक भावनामा कार्यान्वयन गर्न, गाजाका जनतालाई मानवीय सहयोगको सहज प्रवाह सुनिश्चित गर्न र क्षेत्र र बाहिर दिगो शान्तिको मार्ग प्रशस्त गर्न आग्रह गर्दछौं ।’
साथै नेपालले बहुप्रतिक्षित सम्झौता सुरक्षित गर्न महत्वपूर्ण भूमिका खेलेकोमा अमेरिका, कतार, इजिप्ट र टर्किएको प्रशंसा गरेको छ ।