काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (बिहीबार) बस्दै छ । सभापति शेरबहादुर देउवाले बिहीबार दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन् ।
असोज २६ गते बस्ने केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्ने मुख्य उद्देश्यले यो बैठक आह्वान गरिएको हो।
गत भदौ २४ गते, जेनजी आन्दोलनको दोस्रो दिन, सभापति देउवा र उनकी पत्नी डा. आरजु राणा देउवामाथि आक्रमण भएको थियो । त्यसपछि उनीहरू सेनाको सुरक्षा निगरानीमा उपचारमा गएका थिए। यद्यपि, त्यस यता देउवा दम्पत्ति कहाँ बसेका छन् भन्ने जानकारी सार्वजनिक गरिएको छैन।
कांग्रेसमा अहिले देउवाले कार्यवाहक सभापति तोकेर आफू बिदा हुनुपर्ने वा आगामी मंसिरमा पार्टी नियमित महाधिवेशन गर्नुपर्ने आवाज उठिरहेको छ।
नियमित महाधिवेशन गर्न सक्ने अवस्था नभए विशेष महाधिवेशनको कुरा पनि उठिरहेको छ। महामन्त्री गगनकुमार थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आवाज उठाइरहेका छन्।
उनीहरुले अर्का नेता शेखर कोइरालासँग परामर्श गरी विशेष महाधिवेशनका लागि देशभरका महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन पनि गरिरहेका छन्।