बर्दियाको गेरुवा गाउँपालिकामा १० वर्षीया एञ्जल देउवाको अपहरणपछि हत्या भएको छ। गेरुवा–५ झबही घर भएकी देउवा असोज १७ गतेदेखि बेपत्ता थिइन्। दुई दिनपछि गाउँकै जंगल क्षेत्रमा उनी वन गाडिएको अवस्थामा मृत फेला परेकी थिइन्।
लगातार वर्षा भइरहेकाले प्रारम्भिक खोजी कठिन भएको र नदी किनार तथा खोल्सामा अनुसन्धान मोडिएको बेला शव भेटिएको प्रहरीले जनाएको छ। घटनाको पाँच दिनपछि प्रहरीले यो अपहरणपछि हत्या भएको पुष्टि गरेको हो।
प्रहरीले अनुसन्धानका क्रममा विभिन्न रणनीति अपनाउँदै ३० वर्षीय समिर तिरुवा सुनारलाई घटनामा संलग्न रहेको आशंकामा पक्राउ गरेको छ। बुधबार पत्रकार सम्मेलन गर्दै बर्दिया प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सरोज पौडेलले एञ्जलको गहनाकै कारण हत्या भएको आरोपीले स्वीकार गरेको बताए।
‘अनुसन्धानका क्रममा अन्य केही व्यक्तिलाई पनि सोधपुछ गरिएको छ,’ एसपी पौडेलले भने, ‘पोष्टमार्टमका लागि शव पठाइसकेका छौँ। आरोपीले बलात्कारबारे इन्कारी बयान दिएका छन्।’
प्रहरीका अनुसार आरोपीले एञ्जलका दुईवटा सुनका बाला र सिक्री देखेपछि ती लुट्ने प्रयास गरेका थिए। तर बालिकाले “प्रहरी बोलाउँछु” भनेपछि उनको घाँटी थिच्दा मृत्यु भएको बताइएको छ।
एसपी पौडेलका अनुसार सुनारले लुटिएको गहना बेच्न राजापुर र टिकापुरसम्म जाने तयारी गरेको क्लू समेत प्रहरीले पत्ता लगाएको छ।
रुपन्देहीमा आफन्तकहाँ बसेर अध्ययन गरिरहेकी एञ्जल दशैं मनाउन घर गएकी थिइन्। आफन्तको बिहे भोजमा सहभागी हुन साइकलमा निस्किएकी उनी त्यसपछि बेपत्ता भएकी थिइन्।