काठमाडौँ ।जेनजी अभियन्ता मिराज ढुङ्गानाले छिट्टै ग्रान्ड शक्ति प्रदर्शन गर्ने घोषणा गरेका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै ढुङ्गानाले ‘बिर्सेको छैन, कमजोर भएको हैन’ भन्ने सन्देशसहित आन्दोलनलाई पुनः सक्रिय बनाउने सङ्केत दिएका हुन् ।
हालसम्म प्रदर्शनको मिति र स्थान खुलाइएको छैन । ढुङ्गानाले भनेका छन्, ‘हामी कमजोर छैनौँ । धेरै मानिस हाम्रो पक्षमा हुनुहुन्छ । छिट्टै एकदम ग्रान्ड शक्ति प्रदर्शन हुनेछ, जुन शान्तिपूर्ण हुनेछ।’
भदौ २३ र २४ गतेको प्रदर्शनमा सहभागिता नजनाएका मिराजले यस पटकको घोषणालाई ‘मुख्य मोर्चा’ को संज्ञा दिएका छन् । उनले अघिल्ला प्रदर्शनमा सहभागी नहुनुको कारण आफ्नै साथीहरूबाट आएको धम्की भएको खुलासा गरेका थिए। यस पटक भने उनले आन्दोलनलाई निर्णायक चरणमा लैजाने दाबी गरेका छन् ।
ढुङ्गानाले आफू र आफ्नो समूहको मुख्य माग ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री’ भएको स्पष्ट पारेका छन्। उनले भने, ‘यो प्रणालीमा प्रधानमन्त्री निरंकुश नबन्ने गरी पावर ब्यालेन्सको संयन्त्र बनाइएको छ।’
साथै उने ‘देश बनाउन यस्तो मौका फेरि आउँदैन,’ भन्दै सबै समर्थकलाई आगामी शक्ति प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन् .