सेप्टेम्बरमा विदेशी पर्यटक आगमन १८ प्रतिशतले घट्यो

by समतल अनलाइन
55Shares

काठमाडौं । सन् २०२५ को सेप्टेम्बर महिनामा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा घटेको छ। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार गत सेप्टेम्बरमा ७८ हजार ७११ विदेशी पर्यटक नेपाल आएका छन्।

यो संख्या अघिल्लो वर्ष (सेप्टेम्बर २०२४) को तुलनामा १८.३ प्रतिशतले कम हो। सन् २०२४ को सोही महिनामा ९६ हजार ३०२ पर्यटक नेपाल आएका थिए। बोर्डका अनुसार यो कमी पर्यटकीय सिजनको मध्य समयमा भएको हुँदा चिन्ताको विषय बनेको छ।

गत अगस्टमा ८८ हजार ६८० विदेशी पर्यटक नेपाल आएका थिए। तर भदौ २३ र २४ गते (सेप्टेम्बर ८ र ९) मा नेपालमा देखिएको जेन–जी पुस्ताको ठूलो आन्दोलनका कारण पर्यटक आगमनमा कमी आएको विश्लेषण गरिएको छ। आन्दोलनका कारण आन्तरिक उडान, यातायात र सुरक्षासम्बन्धी अनिश्चितताले पर्यटक आगमनमा नकारात्मक असर पारेको जनाइएको छ।

बोर्डले सार्वजनिक गरेको विवरणअनुसार सेप्टेम्बरमा भारतबाट सबैभन्दा धेरै १५ हजार ५५६ पर्यटक नेपाल आएका छन्। त्यसपछि अमेरिका (९ हजार ६७९), चीन (५ हजार २३७), श्रीलंका (३ हजार १५) र बंगलादेश (२ हजार २३०) बाट उल्लेख्य संख्यामा पर्यटक नेपाल आएका छन्।

नेपाल पर्यटन बोर्डका अधिकारीहरूले भनेका छन् कि अघिल्ला वर्षहरूमा सेप्टेम्बरदेखि डिसेम्बरसम्मको समयलाई ‘उच्च सिजन’ मानिँदै आएको भए पनि यस वर्ष राजनीतिक आन्दोलन, महँगी, र क्षेत्रीय अस्थिरताका कारण आगमन घटेको देखिएको छ।

You may also like