मनसुन बाहिरिए पनि दुई प्रदेशमा वर्षाको सम्भावना

by समतल अनलाइन
87Shares

काठमाडौँ ।जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले नेपालको पश्चिमी भू–भागबाट मनसुन बाहिरिन थालेको जानकारी दिएको छ। तर, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अझै केही दिन वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ र केही स्थानमा हल्का वर्षा भइरहेको छ । पश्चिमी वायुको प्रभावले गर्दा सोमबार र मंगलबार यी दुई प्रदेशका हिमाली, पहाडी र तराई भू–भागका केही स्थानमा मध्यम वर्षा हुन सक्ने देखिएको छ। साथै, ती क्षेत्रका हिमाली भू–भागमा हल्का हिमपातसमेत हुने सम्भावना रहेको बताइएको छ ।

महाशाखाले वर्षा र हिमपातको सम्भावनाले कृषि र पर्यटन क्षेत्रमा असर पार्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । विशेष गरी उकालो र पहाडी सडकहरूमा यात्रा गर्नेहरू, गोठालो तथा कृषि कार्यमा संलग्न किसानहरूलाई सावधानी अपनाउन भनिएको छ।

देशका पूर्वी तथा मध्य क्षेत्रहरूमा भने मनसुन प्रभाव समाप्त भइसकेको छ । तर पश्चिमका केही भागमा अझै केही दिन मौसम अस्थिर रहने पूर्वानुमान गरिएको छ।

You may also like