भैरहवामा अलपत्र यात्रुलाई चार्टर्ड उडानमार्फत आज काठमाडौं लगिदै

by समतल अनलाइन
84Shares

भैरहवा । रुपन्देहीको भैरहवामा अविरल वर्षाका कारण अलपत्र परेका यात्रुलाई चार्टर्ड उडानमार्फत काठमाडौं लगिने भएको छ।

प्रधानमन्त्री सुशीला कार्कीको विशेष पहल र मुख्यसचिव एकनारायण अर्यालको समन्वयमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विमानमार्फत उद्धार उडान सञ्चालन गर्न लागिएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले जानकारी दिएका छन्।

दुई दिनदेखिको लगातार वर्षाले भैरहवा आसपासमा हवाई तथा स्थल यातायात अवरुद्ध भएपछि यात्रुहरू अलपत्र परेका थिए। ती यात्रुलाई उद्धारका लागि सरकारले विशेष व्यवस्था गरेको हो।

वायुसेवा निगमले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै असोज २० गते (सोमबार) उद्धार उडान सञ्चालन हुने जनाएको छ। निगमका अनुसार ‘ए–३२०’ विमानमार्फत काठमाडौं–भैरहवा–काठमाडौं मार्गमा चार्टर्ड उडान गरिनेछ।

‘आरए–१७३१’ उडानमार्फत दिउँसो १ बजे विमान काठमाडौंबाट भैरहवा पुग्ने र ‘आरए–१७३२’ उडानमार्फत दिउँसो २ः४५ बजे काठमाडौं फर्किने कार्यक्रम रहेको निगमले जनाएको छ।

यस उडानका लागि काठमाडौंबाट रु ५ हजार र भैरहवाबाट रु ७ हजार भाडा तोकिएको छ। उद्धार उडानमा अशक्त तथा ज्येष्ठ नागरिक, बिरामी र अत्यावश्यक यात्रुलाई प्राथमिकता दिइने पनि निगमले जनाएको छ।

टिकट अनलाइन प्रणालीमार्फत वा निगमको कार्यालय तथा आधिकारिक एजेन्सीमार्फत लिन सकिने व्यवस्था गरिएको छ।

You may also like