इलाममा गएराति गएको पहिरोमा ११ जनाको मृत्यु

by समतल अनलाइन
100Shares

इलाम । इलामका विभिन्न स्थानमा गएराति गएको पहिरोमा ११ जनाको मृत्यु भएको छ । इलाम नगरपालिका–६, माइजोगमाई, सन्दकपुर, माङ्सेबुङलगायत ठाउँमा पहिरो गएपछि जनधनको ठूलो क्षति भएको हो । प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुनिता नेपालका अनुसार विभिन्न ठाउँमा दुई घर पहिरोमा पुरिँदा ११ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

उनका अनुसार घाइते र बेपत्ताको खोजी तथा उद्धार कार्य जारी छ । रातिको समयमा पहिरो गएको र लगातार वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भइरहेको जनाइएको छ । बिहानैदेखि स्थानीय, प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार कार्य सुरु गरेको छ ।

प्रहरीका अनुसार इलाम नगरपालिका–५, घोसमा एकैघरका पाँच जनाको मृत्यु भएको छ । यस्तै सन्दकपुर गाउँपालिका–१, छाँगेमा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते छन् ।

माइजोगमाई गाउँपालिका–६, प्याङमा एकैघरका पाँच जना बेपत्ता भएका छन् । सन्दकपुर गाउँपालिका–३, सुलुबुङमा एक बालिका घरसँगै बेपत्ता भएकी छन् ।

माङ्सेबुङ गाउँपालिका–१ मा पहिरोमा परेर एक गर्भवती महिला र एक पुरुष गम्भीर घाइते भएका छन् । यस्तै फाकफोकथुम गाउँपालिका–३, आमचोकको रातमाटेमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।

माङ्सेबुङ गाउँपालिकामा पहिरोपछि उद्धारमा कठिनाइ भएपछि इटहरीबाट हेलिकप्टर पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लाका विभिन्न ठाउँमा अझै पनि अवरुद्ध भएका बाटो खुलाउने र बेपत्ताको खोजी कार्य भइरहेको अधिकारीहरूले बताएका छन् ।

You may also like