काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न आठ नदीले खतराको तह पार गरेका छन्।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाका अनुसार शनिबार बिहानसम्म बागमती, सुनकोशी, अरुण, तमोर, कन्काई, बूढीखोला (सुनसरी) र बिरिङ खोला (झापा) लगायतका बाढी मापन केन्द्रहरूमा जलसतह खतरा तहभन्दा माथि पुगेको छ।
शाखा प्रमुख विनोद पराजुलीका अनुसार अन्य १२ वटा नदी केन्द्रहरूमा जलसतह सतर्कता तहभन्दा माथि रहेको छ। उनका अनुसार हाल कोशी प्रदेशका नदीहरूमा जलसतह बढ्दो क्रममा छ भने बागमती र मधेस प्रदेशका केही नदीमा स्थिर र केहीमा घट्दो क्रम देखिएको छ।
त्यस्तै, कोशी, मधेस र बागमती प्रदेशका अन्य धेरै नदीनालामा बहाव सतर्कता तह नजिक पुगेको विभागले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र मधेस प्रदेशमा वर्षाको तीव्रता क्रमशः घट्दै गएको भए पनि कोशी प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ। विभागले जारी गरेको आज बिहानको सूचनामा अबका केही घण्टासम्म वर्षा जारी रहने र आज बेलुकीसम्म बाढीको उच्च जोखिम रहने जनाइएको छ।
सोमबार बिहानसम्म पनि मध्यम जोखिम कायम रहन सक्ने विभागको पूर्वानुमान छ।