वर्षाका बाबजुद टीका–जमरा लगाउने क्रम जारी

by समतल अनलाइन
93Shares

काठमाडौँ । शुक्रबार साँझदेखि लगातार भइरहेको वर्षाका बाबजुद पनि देशभर टीका–जमरा लगाउने क्रम जारी छ।

विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने कार्य कोजाग्रत पूर्णिमासम्म चल्ने परम्परा रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष कोजाग्रत पूर्णिमा असोज २० गते सोमबारका दिन पर्छ, जसलाई अखिल बलि पूर्तिको दिनका रूपमा मनाइन्छ।

नेपालीहरूले आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मका १५ दिन बडा दशैँ पर्व भव्य रूपमा मनाउँछन्। आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दशैँ घरमा घटस्थापना गरी पूजा आरम्भ गरिन्छ भने विजयादशमीका दिन देवी विसर्जनपछि टीका–जमरा लगाउने क्रम सुरु हुन्छ।

नजिकका परिवारका सदस्य र आफन्तहरू काम विशेषले टाढा भएकाले पनि कोजाग्रत पूर्णिमासम्म मान्यजनकहाँ गएर टीका र आशीर्वाद लिने चलन छ। शास्त्रीय रूपमा विजया दशमी असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइन्छ।

तर यस वर्ष असोज १७ गते शुक्रबार बेलुकीदेखि सुरु भएको लगातार वर्षाका कारण टाढाटाढाबाट मान्यजनकहाँ टीका लगाउन जानेहरूको तालिका प्रभावित भएको छ। भारी वर्षाका कारण सरकारले आइतबार र सोमबार दुई दिनका लागि सार्वजनिक बिदा दिएको छ भने राजधानी प्रवेश गर्ने र बाहिरिने सवारी साधनहरूमा अस्थायी रोक लगाइएको छ।

You may also like