देशभर मनसुनी वायुको प्रभाव, कोशी र मधेसमा भारी वर्षाको सम्भावना

by समतल अनलाइन
95Shares

काठमाडौं । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभावले देशभर वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र मधेस प्रदेशका अधिकांश स्थानमा पूर्ण बदली छ भने बागमती र लुम्बिनी प्रदेशमा साधारणतया बदली, बाँकी भूभागमा आंशिक बदली देखिएको छ।

मौसम बुलेटिनका अनुसार कोशी र मधेस प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी महाशाखाले दिएको छ।

महाशाखाका अनुसार आइतबार पनि कोशी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहने र बाँकी भूभागमा आंशिक बदली देखिनेछ।

त्यस्तै, कोशी, मधेस, बागमती प्रदेशलगायतका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा र कोशी प्रदेशका पहाडी भागमा एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

You may also like