काठमाडौं । देशभर लगातार भइरहेको भारी वर्षाका कारण उत्पन्न बाढी, पहिरो र अन्य विपद्को अवस्थालाई ध्यानमा राख्दै वायुसेवा सञ्चालक संघ नेपालले उद्धार कार्यका लागि हेलिकप्टर कम्पनीहरू तयारी अवस्थामा रहेको जनाएको छ।
संघका अध्यक्ष मनोज कार्कीले शनिबार जारी विज्ञप्तिमा संघमा आबद्ध सबै हेलिकप्टर कम्पनीहरूले विपद्को अवस्थामा तत्काल उद्धार कार्यमा खटिने तयारी भएको जानकारी दिएका छन्।
संघले काठमाडौं उपत्यकाभित्र हुने विपद्जन्य घटनामा सदस्य कम्पनीहरूले निःशुल्क उद्धार सेवा उपलब्ध गराउने पनि जनाएको छ। उद्धार कार्यलाई अझ प्रभावकारी बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (गौचर) बाट समन्वय अधिकारी तोक्नुपर्ने आग्रह विज्ञप्तिमा गरिएको छ।
संघका अनुसार समन्वय अधिकारीको निर्देशनअनुसार उद्धार कार्य सञ्चालन गरिनेछ र आवश्यक सहयोगका लागि सबै कम्पनीहरू सतर्क अवस्थामा रहनेछन्।