काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज राति कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा धेरै भारी वर्षा पर्ने सम्भावना रहेको जनाएको छ। शनिबार राति सार्वजनिक बुलेटिनअनुसार देशका विभिन्न भू–भागमा अझै पनि अविरल वर्षाको प्रभाव रहनेछ।
महाशाखाका अनुसार आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा पूर्ण बदली रहनेछ भने बाँकी भू–भागमा साधारण बदली हुने देखिएको छ। ती प्रदेशका पहाडी र तराई भू–भागमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
त्यस्तै, कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
भोलि आइतवार पनि कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा मेघगर्जनसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ भने सोमबारदेखि मौसम क्रमशः सुधार हुँदै जाने विभागले जनाएको छ।