भारी वर्षामध्ये प्रधानमन्त्री कार्कीको भिडियो सन्देश : सुरक्षा नै सरकारको प्रमुख चिन्ता

by समतल अनलाइन
90Shares

काठमाडौं । देशभर निरन्तर भारी वर्षा भइरहेको अवस्थामा प्रधानमन्त्री सुशीला कार्कीले शनिबार साँझ भिडियो सन्देश जारी गर्दै नागरिकलाई सतर्क रहन आग्रह गरेकी छन्।

सन्देशमार्फत उनले वर्षापछि देखिन सक्ने जोखिमबारे सरकारको पूर्व आकलन भएको बताउँदै नागरिकको सुरक्षा नै सरकारको सर्वोपरि चिन्ता भएको स्पष्ट पारिन्।

कुनै पनि कार्य गर्दा जोखिमको पूर्व आकलन गरी सुरक्षालाई उच्च प्राथमिकता दिएर गर्नुहोस्। तपाईंहरूको सुरक्षा नै हाम्रो सर्वोपरि चिन्ता हो। आवश्यक सहयोग लिन अप्ठेरो नमान्नुस्, प्रधानमन्त्री कार्कीले भनिन्, “हामी तपाईंहरूको चिन्ता र कठिनाइलाई बुझ्छौं। तपाईं यसमा एक्लो हुनुहुन्न, राज्यका सम्पूर्ण स्रोत तपाईंहरूसँगै छन्।”

उनले आगामी दुई दिन अझै निरन्तर वर्षा हुने भएकाले सतर्क रहन आग्रह गरिन्। लगातार वर्षाका कारण परिस्थिति खतराको तहमा पुग्न सक्ने भन्दै सरकार उद्धार र राहतका लागि उच्च मनोबलका साथ तयारी अवस्थामा रहेको पनि कार्कीले बताइन्।

राज्यका सुरक्षा संयन्त्र २४ घण्टा सक्रिय रहने, प्रमुख राजमार्गलाई प्राथमिकता दिइएको र मौसम खुल्नेबित्तिकै सञ्चालनमा ल्याइने उनले जानकारी गराइन्।

त्यसैगरी अत्यावश्यकबाहेक यात्रा नगर्न र डुबान तथा पहिरोमा पर्न सक्ने सम्भावना भएकाले सावधानी अपनाउन पनि प्रधानमन्त्री कार्कीले आह्वान गरेकी छन्।

You may also like