119
बागलुङ । जिल्लाको ताराखोला गाउँपालिका–१ गाईघाट नजिक पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
शुक्रबार साँझ ग १ ज ६१०० नम्बरको पिकअप सडकबाट करिब २० मिटर तल तारा खोलामा खस्दा गलकोट नगरपालिका–५ सर्दाखेतका २४ वर्षीय दिनेश थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
दुर्घटनामा सोही वडाका २४ वर्षीय मिलन परियार र ४३ वर्षीय वीरबल परियार घाइते भएका छन्। प्रहरी निरीक्षक तथा सूचना अधिकारी केशव थापाका अनुसार गम्भीर घाइते वीरबललाई गलकोट नगर अस्पतालमा सामान्य उपचारपछि पोखरा रिफर गरिएको छ भने मिलन परियारको उपचार गलकोट अस्पतालमै भइरहेको छ।
गलकोट हटिया बजारबाट ताराखोला जाँदै गरेको पिकअप दुर्घटनाग्रस्त बनेको हो। दुर्घटनाको खबर पाए लगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार कार्य गरेको प्रहरीले जनाएको छ।