बुटवल । चार दशकदेखि दुईपांग्रे सवारी साधन र पार्टपुर्जा बिक्री वितरण गर्दै आएको बुटवलको बागमती मोटरसाइकल सेन्टरले नयाँ ब्रान्डका बाइक बिक्री सुरु गरेको छ। मंगलबार महाअष्टमीको अवसर पारेर बुटवल–कालिकानगरस्थित दुई नयाँ शोरुमको विधिवत उद्घाटन गरिएको हो।
शोरुमको उद्घाटन बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले गरे। उद्घाटन कार्यक्रममा उनले बागमती मोटरसाइकल सेन्टरले लामो समयदेखि यस क्षेत्रमा मोटरसाइकल बिक्री–वितरण गर्दै उपभोक्ताको विश्वास जितेको उल्लेख गरे। प्रविधिमैत्री सवारीसाधन भित्र्याएर बिक्रीपछिको सेवा उपलब्ध गराउँदा उपभोक्ताको मन जित्न सफल भएको उनले बताए।
बागमतीका सञ्चालक चिरञ्जीवी श्रेष्ठले हालसम्म क्रसफायर बाइक र इलेक्ट्रिक ग्याडो बिक्री गर्दै आएकोमा मंगलबारदेखि थप दुई कम्पनी—सुजुकी र जुम्याभ—का सवारीसाधन पनि उपलब्ध गराउन थालेको जानकारी दिए। उनले भने, “चार वटा कम्पनीका दुईपांग्रे सवारीसाधन अब एकै स्थानबाट बिक्री–वितरण हुनेछन्।”
उनका अनुसार जापानी ब्रान्ड सुजुकीका स्कुटी र मोटरसाइकल उपभोक्तामाझ निकै लोकप्रिय भएकाले अब बुटवलमै उपलब्ध हुनेछन्। सुजुकी ब्रान्डअन्तर्गत भि–स्ट्रोम एसएक्स, जिग्गर एसएफ २५०, जिग्गर २५०, जिग्गर १५० मोटरसाइकल र स्कुटीमा एभिनिस, बर्गमेन र एसेस गरी तीन मोडल उपलब्ध छन्।
त्यसैगरी, जुम्याभ कम्पनीका डर्ट बाइक तीन भेरियन्टमा उपलब्ध छन्, जसको मूल्य क्रमशः ७ लाख ५० हजार, ७ लाख ९९ हजार र ८ लाख २० हजार रुपैयाँ तोकिएको छ।