दसैँ मनाउन सुरक्षाविनै चितवन पुगे शिक्षामन्त्री पुन

by समतल अनलाइन
135Shares

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन दसैँ चितवनको राप्ती नगरपालिका–१४, खुरखुरेमा आफ्ना परिवार र आफन्तसँग मनाउँदै छन् । सोमबारमात्र पोखरा पुगेका मन्त्री पुन मंगलबार पर्यटक बस चढेर चितवन गएका हुन् ।

साधारण जीवनशैली अपनाउने पुन सुरक्षा टोली विना नै पोखरा विमानस्थलबाट ट्याक्सी चढेर नदीपुरस्थित कोठामा पुगेका थिए। त्यहाँबाट उनी मंगलबार बिहान पर्यटक बसमार्फत चितवन प्रस्थान गरेको प्रहरीले जनाएको छ ।

‘मैले स्कुल, क्याम्पस पढेको र पढाएको ठाउँ चितवन हो । मेरा सबै भाइबहिनी त्यहीँ छन्, त्यसैले दसैँ चितवनमै मनाउने हो,’ मन्त्री पुनले भने ।

उनले आफू परिवारको जेठो सदस्य भएकोले भाइबहिनीलाई टीका लगाइदिनुपर्ने परम्परा बताउँदै, ‘बा–आमा त धेरै सालअघि गइसक्नुभयो । मलाई त अब आफैँले टीका लगाउने हो,’ भने ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८, नागीमा जन्मिएका पुनको परिवार पछि चितवन सरेको थियो । उनी ७ कक्षा देखिनै चितवनमा पढेका थिए । त्यहीँबाट शिक्षण पेसा आरम्भ गरेका पुन पछि अमेरिका गएका थिए।

You may also like