आर्यतारा बनिन् जीवित देवी कुमारी

by समतल अनलाइन
145Shares

काठमाडौँ । साढे दुई वर्षीया आर्यतारा शाक्यलाई राजकीय जीवित देवी कुमारीको रूपमा चयन गरिएको छ । ऐतिहासिक कुमारी घर, हनुमान ढोकामा महाअष्टमीको अवसरमा मंगलबार नवघोषित कुमारी आर्यतारा शाक्यको आसन ग्रहण सम्पन्न भएको हो ।

परम्परागत विधिअनुसार पूजनीय गरिँदै उनलाई मध्याह्न १२:०५ बजेदेखि १२:१६ बजे बीचको शुभ साइत पारेर विधि विधानपूर्वक कुमारी घरमा आसन ग्रहण गराइएको हो ।

आर्यतारा काठमाडौँको इटुम्बाहल बहालस्थित शाक्य समुदायबाट चयन भएकी हुन् । उनका पिता अनन्त शाक्य, आमा प्रतिष्ठा शाक्य र बहिनी परमिता शाक्य हुन् ।

पूर्व कुमारी तृष्णाको कुमारीकाल उनी किशोरावस्थामा प्रवेश गरेसँगै परम्पराअनुसार समाप्त भएको हो । उनलाई विशेष पूजापाठपछि बाजागाजासहित परम्परागत शैलीमा कुमारी घरबाट बिदाइ गरिएको थियो।

राजकीय कुमारी हिन्दु देवी तलेजुको जीवित अवतार मानिन्छिन् । उनीहरूको चयन प्रक्रिया अत्यन्तै विशेष र परम्परागत तान्त्रिक तथा ज्योतिषी मूल्याङ्कनमा आधारित हुन्छ । यसमा पञ्चाङ्ग समिति, तलेजु मन्दिरका मूल पुजारी, गुठीका प्रतिनिधि र ज्योतिषहरूको सहभागिता रहन्छ ।

नवनियुक्त कुमारी आर्यतारामा परम्पराअनुसार आवश्यक ३२ गुणहरू पाइएका छन्। तीमध्ये शारीरिक शुद्धता, सुन्दरता, सबै दाँतको पूरा हुनु, घाउ वा दाग नहुनु, शान्त स्वभाव, दैवी स्वरूप र असाधारण निडरता मुख्य मानिन्छन्।

कुमारी पदले नेपालमा शताब्दीयौँदेखि चल्दै आएको एक अद्वितीय परम्परालाई निरन्तरता दिने कार्य गर्छ। राजकीय कुमारी हिन्दु र बौद्ध दुवै धर्मावलम्बीहरूको श्रद्धा र पूजाको केन्द्रमा रहन्छिन्। उनी राष्ट्रिय सांस्कृतिक र धार्मिक पहिचानको एक प्रतीक मानिन्छिन्।

कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुखले पनि कुमारीको दर्शन गर्ने परम्परा छ।

You may also like