134
पाल्पा ।तानसेन–रिडी गुल्मी सडकअन्तर्गत पाल्पाको तानसेन नगरपालिका–१४ देउराली अर्गलीमा भएको इलेक्ट्रिक भ्यान दुर्घटनामा १३ जना घाइते भएका छन्।
बुटवलदेखि गुल्मी जाँदै गरेको बागमती प्रदेश ०१–०३१ च ७९५७ नम्बरको रातो प्लेटको इलेक्ट्रिक भ्यान क्षमताभन्दा बढी यात्रु बोकेर गुडिरहेको अवस्थामा सडकदेखि करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएकामध्ये आठ जनाको उपचार रुरु स्वास्थ्य चौकी, रिडीमा भइरहेको छ भने पाँच जनालाई थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज, प्रभास लगिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
दसैं मनाउन घर फर्किरहेका यात्रुहरूलाई लिएर भ्यान रिजर्भमा चलाइएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। सवारी साधन घटनास्थलमै रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए।