काठमाडौँ । जेनजी आन्दोलनको घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसहित पाँच जनाको राहदानी रोक्का गर्न सिफारिस गरेको छ ।
आइतबार बसेको आयोग बैठकले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र काठमाडौँका पूर्व सिडिओ छवि रिजालको पासपोर्ट रोक्का गर्न पनि सिफारिस गरेको हो ।
आयोगले उनीहरूको विदेश भ्रमण रोक्न राहदानी विभागलाई पत्राचार गरेको छ। साथै उनीहरूको विदेश भ्रमण रोक्का गर्नुका साथै स्वीकृतिबिना काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न पनि पत्राचार गरिएको बताइएको छ ।
सरकारले जेन-जी प्रदर्शनको क्रममा भएको घटनामाथि छानविन र अनुसन्धान गरी कारवाहीको सिफारिस गर्ने कार्यादेशसहित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । आयोगका सदस्य विज्ञानराज शर्माले आज एक पत्र लेख्दै घटनाका सम्भावित दोषीमाथि निगरानी राख्न माताहतका निकायलाई खबर गरेका हुन् ।