जेनजीलाई आफ्नो अनुभवसहित बाबुरामको सन्देश–राजनीति निर्मम हुन्छ, शंकासहित विश्वास गर्ने हो

by समतल अनलाइन
58Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिमा निरपेक्ष विश्वास गर्न नहुने बताएका छन् ।

सामाजिक सञ्जालमा आफ्नो अनुभव सेयर गर्दै भट्टराईले शंकासहित विश्वास गर्न जेनजी युवाहरूलाई सन्दश दिएका छन् ।

भट्टराईले २०५३ सालको दासढुंगा काण्डपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईले आफूहरूलाई झुक्याएको पनि स्मरण गरेका छन् ।

‘राजनीति धेरै निर्मम हुन्छ। निरपेक्ष विश्वास हैन, शंकासहितको विश्वास गर्नुपर्छ’ उनले भनेका छन्, ‘विशेषतः अहिले नयाँ इतिहास बनाइरहेका जेनजी अभियन्ताहरूले पनि सिक्ने कि?’

भट्टराईले लेखेका छन्,
२०५० जेठ ३ गते चितवनको दासढुंगा नजिक त्रिशुलीमा जिप खसेर तत्कालीन एमाले नेताहरू मदन भण्डारी र जीवराज आश्रितको दुःखद निधन भएपछि देशमा ठुलो जनआक्रोश पैदा भयो। थप जनधनको क्षति हुनथाल्यो।

एमाले, तत्कालीन माओवादीको खुला मोर्चा संयुक्त जनमोर्चा (संजमो) लगायतको संयुक्त नेतृत्वमा आन्दोलन चर्कंदै गयो।निष्पक्ष छानबिन, दोषीलाई कारबाहीलगायतका मागहरू अतिरिक्त तत्कालीन प्रम गिरिजाप्रसाद कोइरालाले राजीनामा गर्नुपर्ने मुख्य मागहरू बने। सरकार टसमस भएन।

महिनौँको संघर्षपछि भदौको कुनै दिन सरकार र आन्दोलनकारीबीच वार्ता गर्ने सहमति भयो।

आन्दोलनकारीहरूको तर्फबाट तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारी, वरिष्ठ वामपन्थी नेता शम्भुराम श्रेष्ठ र संजमोको अध्यक्ष म चयन भयौँ। सरकार पक्षबाट कांग्रेस सभापति तथा पूर्वप्रम कृष्णप्रसाद भट्टराई (किसुनजी) खटिनुभयो। ललितपुर सानेपाको कुनै घरमा वार्ता भयो।

लामो रस्साकस्सीपछि अरू कुराहरूमा सहमति बन्दै गयो। तर प्रमको राजीनामाबारे सहमति हुन निकै सकस पर्‍यो। हामी पनि टसमस भएनौँ। अन्त्यमा किसुनजीले भन्नुभयो- ‘लौ त्यो माग पनि तपाईंहरूको पूरा हुन्छ। म जिम्मा लिन्छु।’

हामीले भन्यौँ- ‘मिति तोक्नुपर्छ।’

किसुनजीले भन्नुभयो- ‘लौ लौ, भदौ ३० गते! मेरो वचन भयो।’

मेरो मनमा शंका लाग्यो। किनकि म त्यतिबेला ३९ वर्षको जल्दोबल्दो थिएँ।

मैले भनेँ- ‘किसुनजी, यसको एउटा लिखत गरौँ न त!’

किसुनजीले बोल्नु अघि नै उहाँका समवयी र मेरा पिताको उमेरका मनमोहनजी र शम्भुरामजीले एकै स्वरमा भन्नुभयो- ‘किसुनजी जस्तो सन्तनेताले भनेपछि भैगो नि! उहाँको वचन नै लिखतभन्दा बलियो हुन्छ।’

म हिस्स परेँ।

भदौ ३० गते आयो। प्रम गिरिजाप्रसाद कोइरालाले राजीनामा गर्नुभएन।

बरु ‘सन्तनेता’ले पो भन्नुभयो- ‘मैले राजीनामाबारे आश्वासन दिएकै थिइनँ।’

सबै फासफुस भयो।

यसको पाठ हो- राजनीति धेरै निर्मम हुन्छ। निरपेक्ष विश्वास हैन, शंकासहितको विश्वास गर्नुपर्छ।

विशेषतः अहिले नयाँ इतिहास बनाइरहेका जेन-जी अभियन्ताहरूले पनि सिक्ने कि?

You may also like