बुटवलमा क्यानन माविको रक्तदान कार्यक्रम, २२ यूनिट रगत संकलन

by समतल अनलाइन
120Shares

बुटवल। नेपालीहरूको महान चाड वडादशैँलाई मध्यनजर गर्दै बुटवलस्थित क्यानन माध्यमिक विद्यालयले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। दशैंको समयमा हुने सम्भावित रगत अभावलाई ध्यानमा राखी विद्यालयले नेपाल नियमिति रक्तदाता संघ जिल्ला शाखा रुपन्देहीसँग सहकार्यमा बुधबार विद्यालय परिसरमै कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा सामाजिक अभियन्ता अर्जुन भुसालको विशेष उपस्थिती रहेको थियो। उक्त अवसरमा विद्यालयका प्राचार्य शंकर भण्डारीले दशैंका बेला नेपालभर रगतको अभाव हुने समस्या देखिने भएकाले समाजप्रति जिम्मेवारी स्वरूप विद्यालयले रक्तदान कार्यक्रम आयोजना गरेको बताए। उनले कक्षा ११ र १२ का विद्यार्थीलाई सामाजिक उत्तरदायित्वबारे सचेत बनाउन र रक्तदानमा प्रेरित गर्न पनि यो कार्यक्रम महत्वपूर्ण भएको बताए।

सहप्राचार्य विष्णु प्रसाद न्यौपानेले रक्तदानसँगै विद्यार्थीहरूलाई दशैंको शुभकामना प्रदान गरिएको जानकारी दिए। प्लस टु संयोजक पवन बस्यालका अनुसार कक्षा ११ र १२ का ६० भन्दा बढी विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो। सो क्रममा २२ यूनिट रगत संकलन गरिएको छ।

You may also like